बोसोको आँशु !

ज्यापुको खेतको मूला झैँ सप्रिएका ।
गर्धनमा सिधै टाउको जोडिएका,
जाडोमा गल्बन्दी लगाउन घाँटी नभएका
प्राणीहरु । कलंकीमा उभिँदा भुँडी
थानकोट पुग्ने खाइलाग्दाहरु । डबल बेडको
तन्नाको हाफ बाउला र बिना खल्तिको
सर्ट मात्र सिउन पुग्ने जिवहरु । ‘मोटे’,
‘मोटी’, ‘गैँडा’, ‘हात्ती’, ‘फ्याट्टी’,
‘फर्सी’, अर्थात् घाममा राख्दा पग्लेलान्
जस्तो देखिने बोसोका स्तम्भहरु । लम्बाई
भन्दा चौडाइ धेरै भएकाहरु । विचराहरु !
कसैको लागि कुनै कालखण्डमा ज्यानमा
बोसो लाग्नु उपलब्धि वा सम्पन्नताको सूचक
हुन सक्छ वा सक्थ्यो तर आजको विश्वले
मोटोपनलाइ रोग भनेको छ र भविष्यमा
मानव सभ्यताको लागि सबैभन्दा ठूलो
चुनौतीको रुपमा लिएको छ । तथ्यांकले
विश्वको आधा जनसंख्या मोटोपनको रोगी
भएको दर्साएको छ । स्थिति भयावह छ तर
पनि मान्छेहरु अत्यधिक कार्वोहाइड्रेट,
फ्याट र कोलेस्टिरोलले सुसम्पन्न फास्ट,
जन्क फुडको स्वादमा रमाउँदै शारिरक
व्यायम रहित स्थिर(Sessile) जिवनशैलीमा
मस्त छन् । खानपिन र रहनसहनले मान्छेलाइ
बेलुनझैँ फुलाउँदै लगेको छ ।
मोटोपनको गर्वमा थुप्रै दिर्घकालिन् र
भयानक रोगहरु लुकेर बसेका हुन्छन् ।
उच्चरक्तचाप, मधुमेह, स्ट्रोक र ह्रृदयघात
जस्ता रोगहरु मोटोपनको परिणाम हुनसक्छ ।
साथसाथै यसले दैनिक जिवन पनि कष्टकर
बनाउँछ । जाँगर र फुर्ति बोसोले थिचेर राख्छ
र साना कामहरुमा पनि थकाइ महसुस हुन्छ ।
मोटोपनले व्यक्तिलाइ मात्र नभएर
समाजलाइ पनि असर पुर्याइरहेको हुन्छ ।
साँघुरो माइक्रोमा दुइ सिट ओगटेर बस्नु र
अन्तिममा विद्यार्थी परिचय पत्र देखाएर
आधा भाडा तिर्नु समाज र सिंगो अर्थतन्त्र
प्रतिको गैरजिम्मेवारीपनको पराकाष्टा
हो । मोटो मान्छे बाटोमा उभिदिनाले
साना र भिडभाड हुने सवारीसाधानमा
चढ्न र ओर्लिन असुविधा हुन्छ । यस्तोमा
भिड ट्याम्पु वा माइक्रोबाट कोही एउटा
मात्र मोटो मान्छे ओर्लिँदा साधन नै
खाली भएर यात्रुले स्वतन्त्रताको आभास
गर्नु स्वभाविक छ । व्यस्त सडकमा १६ चक्के
ट्रक हिँडेझैँ असनका साँघुरा गल्लिमा
मोटोमान्छे हिँडिदिँदा बटुवालाइ पनि
असुविधा पर्न जान्छ । एउटा हलुका मोटर
साइकलमा डेढ कुइन्टलको मान्छे बसेर टायर
दबिएको देख्दा संसारको सबैभन्दा अभागी
जिनिस त्यै अबोध मोटरसाइकल हो झैँ लाग्छ
। मोटाउन पाउनु अधिकार हो तर मोटाएर
समाजमाथि नकारात्मक असर पर्छ भने त्यो
अपराध हुन्छ ।
कमोटमा नअटाउने, झरिमा छाताको
छत्रछाँयामा नअटाएर रुझ्ने, नेत्र र जमिनको
विचमा रहेको जम्बो भुँडीले दृष्टिमा अवरोध
गरेर फरक फरक चप्पल लगाउने, दुइटा पेटी गाँसेर
लगाउनुपर्न्े जस्ता गम्भिर परिस्थिती
आउनुभन्दा पहिले नै सचेत हुन जरुरी छ । आफ्नो
शरिरको तौल र आयतन नियामन गर्न
अपरिहार्य छ ।
टेम्पलरनमा कुद्नुभन्दा बाहीर चउरमा कुद्नु
धेरै फाइदाजनक हुन्छ । बिहानभरि फेसबुकको
टाइमलाइनमा कुद्नु र दिउसोभरि कुर्षीमा
घुम्नुभन्दा विहान बेलुका समय निकालेर
जगिगं वा साईक्लिन्ग गरेर अतिरिक्त
क्यालोरी जलाएर तौल नियन्त्रणमा
राख्नसकिन्छ । क्यान्डीक्रश र फ्ल्यापी बर्ड
खेल्नुभन्दा क्रिकेट, फुटबल जस्ता खेलकुदमा
सहभागी भएर शारिरिक व्यायाम
गर्नसकिन्छ । शरिरलाई चलायमान राख्नुपर्छ
। खानपानमा विशेष ध्यान दिएर, चिल्लो र
गुणस्तरहिन जन्क फुडको सट्टा पौष्टिक
खानेकुरा खानुपर्छ । खाने बेला भोली विश्व
नै ध्वस्त हुन्छ आजै खानुपर्छ, यो नै “The Last
Supper” हो भन्ने मानसिकता बोकेर गति
छाडेर खानुहुँदैन । शरिरको आवश्यकता
अनुसार खानुपर्छ ।

यसरी खानपान र
रहनसहनमा विशेष ध्यान दिएर मोटोपनको
जोखिम घटाउन सकिन्छ ।

ठिक्क खाऔँ, सक्रिय रहौँ । आँफु र
समाजप्रति जिम्मेवार बनौँ !
(द्रष्टव्य: यो दर्लाग्दो भयानक कथा आज
अविरल अधिकारी माइक्रोमा यात्रा
गर्दा साइडको सिटमा बसेको मान्छे झैँ
देखिने मत्ता हात्ती आकारको प्राणीले
थिच्दा मेरो मनमा उब्जिएका विचारहरुको
संग्रह हो ।)

by Abiral

Advertisements